बनेपाको चारदोबाटोदेखि तीनदोबाटोसम्म यात्रा गर्दा धेरै खालका दृश्यहरु क्यामारामा कैद गरिसकेको थिएँ । करिब ५ सय मिटरको त्यो दूरीमा खिचिएका तस्बिरहरुमध्ये धेरैमा एउटै साझा कुरा पाएँ- सडक बालबालिका । कतै होटलमा भाँडा माझिरहेका त कतै बसको झ्यालबाट यात्रूहरुलाई सामान बच्दै गरेका । फोहोरको थुप्रोमा आफ्नो आहारा खोज्दै गरेका हुन् वा प्लास्टिकमा डेन्ड्राइट सुघ्दै गरेका । यी सबै तस्बिरमा मुख्य पात्र हुन आउने यी बालबालिकाहरु सडकमा आफ्नो भविष्य खोजिरहेका थिए ।
पारिवारिक समस्यबाट पिरोलिएर होस् वा सही मार्गनिर्देशन गरिदिने अभिभावक नभएर - अन्योलमा आफ्नो जीवन गुजारिरहेका यी बालबालिकालाई देख्दा लाग्छ भविष्यका कर्णधारहरु आज सडकमा टोलाइरहेका छन् । पेटको भोक टार्नकै लागि छलछाम र चोरीको पाठ सिकिरहेका छन् । सडकलाई नै यिनीहरुले आफ्नो घर स्वीकारेका छन् । खुला आकाश छानो अनि पर्खालरहित आँगन । असिमित मान्छेहरुको भीडमा पनि यिनीहरु अटेका छन् । शून्यताको गहिराईमा पनि यिनीहरु बाँचेका छन् । सडकले यिनीहरुलाई बाँच्ने साहस दिएको छ । अनि सडकले नै संघर्षको पाठ सिकाएको छ ।
विभिन्न बाधा अड्चनका बाबजुद पनि चलायमान रहने संघर्षका यि पाइलाहरुलाई बुझ्ने प्रयासमा म भोलिपल्ट पनि त्यसैगरी बनेपा पुगें । सडकमा भौतारिएर समय काटिरहेका यी बालबालिकाहरुलाई देख्दा उनीहरुको जीवनशैली र अवस्थाबारे जान्न मन लाग्यो । केहीछिन्को प्रयासपछि म साना दुई बालकहरु नजिक पुगें । जो बसका यात्रुहरुसँग पैसा मागिरहेका थिए । ती थिए राम र काँधमा उनको कान्छो भाइ अर्जुन । आफ्नो उमेरका अरु बालबालिकाहरु स्कुल जुदा उनीहरु भने सडकमा मागिरहेका थिए । अर्जुनको अनुहारमा अनौठो घाउ थियो । ुके भयो बाबु तिमीलाई ु- मैले सोधें । भाइको घाउले भरिएको हात उचाल्दै रामले भने-ुछाप्रोमा आगो लाग्दा पोलेको ।ु त्यो आलो घाउ बोकेको अर्जुनको अनुहारले मेरो मन पगाल्न कत्ति बेर लागेन । मैले उनीहरुलाई नजिकैको मेडिकलमा लगेर घाउ सफा गराई औषधि लगाइदिएँ ।
'तिमीलाई सबैभन्दा मनपर्ने खाना के हो' उनीहरु दुवैले एउटै शब्द उच्चारण गरे-'मोमो' । इच्छाअनुरुप पेटभरी मोमो खान पाएपछि खुशी व्यक्त गर्दै उनीहरुले मलाई आफ्नो छाप्रोतिर लगे । केही दिनअघि छाप्रोमा आगो लागेपछि आफूहरुको झन् बिचल्नी परेको बताउँदै राम र अर्जुनका बुबाले भने 'हामी कागज बटुल्ने काममा व्यस्त हुन्छौं । यिनीहरुलाई सरकारी स्कुलमा भर्ना त गरिदिएँ तर पढ्न जानै मान्दैनन् ।' अर्जुनकी एउटी दिदी र एक बहिनी पनि रहेछन् । गास बास र कपासको जोहो गर्नमै धौधौ पर्ने त्यो परिवारलाई बालबालिकाको स्थास्थ्य शिक्षा जस्ता आधारभूत अधिकारबारे सोच्नसम्म पनि प्राय असम्भव देखिन्थ्यो । हुन त केही संघसंस्थाहरुले यस्ता बालबालिकालाई पढ्ने अवसर दिए पनि कुलतमा फसिसकेका कारण उनीहरु पढाइ छाडेर भाग्ने गरेको तीनदोबाटोस्थित एक मेडिकलकी गंगा श्रेष्ठले बताइन् ।
त्यसपछि उनीहरु एउटा बोर्डिङ स्कुलको पछाडि रहेको खुला चउरतर्फ लागे । केही बेरमा उनीहरुका अरु छ जना साथीहरु पनि देखिए । अनि आफ्ना सबै पीडाहरु हासोले छोपेर उनीहरु रमाउन थाले ।
यो कथा राम र अर्जुनको मात्र होइन । देशका थुपै्र बालबालिकाहरु सडकमा आफ्नो जीवन गुजारिरहेका छन् । विद्यालय जानुपर्ने उमेरमा उनीहरु सडकमा खेलिरहेका छन् । मागिरहेका छन् । यस्ता बालबालिकाको यकिन तथ्यांक भने पाइँदैन । तर कुनै न कुनै रुपले यस्ता बालबालिकाहरु आफ्नो अधिकारबाट विाचत छन् । देशको राजधानी सहरमै यस्ता बालबालिकाहरु प्रशस्त देखिन्छन् । शिक्षा आर्जन गर्नुपर्ने समयमा आफ्नो छाक टार्नकै लागि एकातिर यिनीहरुमा माग्नुपर्ने बाध्यता छ भने अर्कातिर मागेको पैसा दुरुपयोग गरेर लागूऔषधको चपेटामा पर्ने क्रम बढ्दो छ । सडकमा यात्रा गर्नेहरुसमेत यस्ता बालबालिकाहरुबाट सास्ती खेप्नुपरेको बताउँछन् । काठमाडौं बालाजुका रबिन शाक्य भन्छन् ुहत्तारमा भएको बेला पछ्याएर दिक्क लगाउँछन् । छैन भन्दा मान्दैनन् अनि एक्कासी खुट्टा ढोग्न पो थाल्छन् ।ु उनीहरुको यस्तो कार्यले पर्यटकहरुलाई सताउने गर्दछ । सम्भव भएसम्म त जोकोहीले यस्ता बालबालिकाहरुमाथि दया गर्दछन् । तर यसरी माग्ने बालबालिकाहरुको बढ्दो संख्याले भने जोकोहीलाई एकपटक सोच्न बाध्य गराउँछ ।
गाँस बास र कपास सबैको नैसर्गिक अधिकार भएपनि उनीहरु यसबाट पनि विाचत छन् । आखिर उनीहरुको यो आवश्यकता पूरा गर्ने दायित्व कसको हो अभिभावक राज्य कि भाग्यको यति सोच्दै म उनीहरुबाट बिदा भएँ ।
No comments:
Post a Comment